काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपल्ट बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
मन्त्रीपरिषदको बैठकले प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको हो । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै हिजो एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र एमालेका सबै मन्त्रीले राजीनामा दिइसकेका छन् ।
एमालेको समर्थन गुमाएसँगै प्रचण्ड सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ । कांग्रेस र एमालेले प्रचण्डलाई राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनले संसद्मा विश्वासको मत माग्ने बताएका छन् ।