काठमाडौं । राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजिनामा नदिई फर्किएका छन् । प्रचण्डसँगको छलफल पछि राजीनामा नदिएर फर्किएका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको छलफलमा विश्वासको मत लिने भएपछि रास्वपाका मन्त्रीहरु राजिनामा नदिई फर्किएका हुन् । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।