वीरगन्ज । वीरगन्ज कलेजले आयोजना गरेको एकदिने ‘सिक्दै कमाउदै’ प्रशिक्षणले विद्यार्थीहरु निकै उत्साहित भएका छन् । वीरगन्जको भिस्वा होटलमा आयोजित प्रशिक्षण कार्यक्रममा कलेजको बीबीएस प्रथम बर्षका विद्यार्थीहरुलाई आफ्नो व्यक्तित्व विकास र अध्ययनका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमले आत्मनिर्भर बन्न र उद्यमी बन्नमा प्रेरित गरेको विद्यार्थीहरुले बताएका छन् । वीरगन्जकै अन्य कलेज र काठमाडौबाट समेत बीबीएस प्रथम बर्षमा विद्यार्थीहरु भर्ना भएको र उनीहरुले कलेजले दिएको प्रशिक्षणले अध्ययन र उद्यम व्यावसायका लागि निकै उपयोगी भएको बताएका छन् ।
वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध कुमार गुप्ताले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा कलेजले पाठ्यक्रमको पढाई मात्रै होईन बाहिरी ज्ञान समेत सिकाएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएको प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको वक्ताहरुले बताएका थिए ।
उनीहरुले अहिलेको शिक्षा पाठ्यक्रममा मात्रै आधारित नभई व्यावहारिक र रोजगारमुखी पनि हुनुपर्ने भएकोले सरकारले ल्याएको अवधारणा अनुसार कलेजले व्यवहारमा लागू गर्ने प्रयास सराहनीय रहेको बताएका थिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, न्युज २४ टेलिभिजनका नेपाल ब्यूरो राजु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गर्नुभएको थियो ।