वीरगन्ज । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भएपनि जोखिम मोलेर वैदेशिक रोजगारीमा जानेहरुको लागि राज्य अझै गम्भीर हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
दिव्य विकास स्रोत केन्द्रले आज वीरगन्जको होटल गेटवे वीरगन्जमा आयोजना गरेको सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगतको वैदेशिक रोजगार सम्बन्धी नागरिक समाजसँगको अन्तरकृया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सरकारको काम गैरसरकारी संस्थाहरुले घर घरमा पुगेर वैदेशिक रोजगारीमा जानेहरुका लागि सचेतना फैलाईरहेको भएपनि विदेशमा गएर अलपत्र परेकाहरुलाई सरकारले तुरुन्त उद्दार गर्न र त्यसको वैकल्पिक व्यावस्था गर्न नसकेको बताएका छन् ।
सरकारले विदेश जानेहरुका लागि भिसा शुल्क बाहेक अन्य निःशुल्क गरेको प्रचार गरेपनि म्यानपावरका दलालहरु गाउँ गाउँमा पुगेर युवाजनशक्तिलाई प्रलोभनमा पारेर ठग्ने गरेकोले त्यसको नियन्त्रणका लागि सरकारले चासो लिनुपर्ने बताए ।
दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सहसंयोजक पूरन प्रसाद कुर्मी, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, सञ्चारकर्मीहरु क्रान्ति साह, जगत राई, शम्भु कुमार सुमन, प्रकाश थारु लगायतले आ–आफ्ना भनाई राखेका थिए ।
सामी परियोजना र नेपालको वैदेशिक रोजगारीको अवस्थाको बारेमा कार्यक्रम संयोजक रामाशंकर कुश्वाहाले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सुनिल कुमारले गरेका थिए ।