वीरगन्ज । जनशक्ति पलायन रोक्न स्वदेशमै युवा र उद्यम व्यापारमैत्री नीतिको खाँचो रहेको सरोकारवालाहरुले औल्याएका छन् । इकोनोमिक रिपोर्टर्स एशोसिएशन, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अर्थ संवाद समिति र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले वीरगञ्जमा आयोजना गरेको ‘आर्थिक विकासमा जनशक्ति व्यवस्थापनको सवाल’ विषयक अन्तरक्रियामा सहभागीहरूले समृद्धिको लक्ष्यमा पुग्न जनशक्ति पलायन मुख्य चुनौती देखा परेका बताएका हुन् ।
रोजगारी र अध्ययनका नाममा दैनिक सयौं युवा विदेशमा पुगिरहेको भन्दै युवालाई स्वदेशमै आयको अवसर देखाउन नसक्दासम्म पलायन नरोकिने उनीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सवालमा राजनीति गम्भीर नभएकाले युवा पलायन रोक्न नसकिएको बताउनुभयो ।
पर्यटन, उत्पादन, खनिज, जडीबुटीजस्ता क्षेत्रमा अवसर भए पनि त्यसको उपयोग हुन नसकेको उहाँको भनाइ थियो । वीरगञ्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले युवा पलायनले सामाजिकसँगै गम्भीर आर्थिक समस्या सृजना भएको बताउनुभयो । अर्थतन्त्र विप्रेषणमा निर्भर हुँदै गए पनि यस्तो आय दिगो नहुने र अधिकांश रकम उपभोगमा सकिने गरेको गुप्ताले औंल्याउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सवालमा राजनीति गम्भीर नभएकाले युवा पलायन रोक्न नसकिएको बताउनुभयो । वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले शैक्षिक नीति अस्थिर हुनु र कामदारको तलब कम हुनुलाई जनशक्ति पलायनको कारण भने ।
उत्पादनमा प्रविधिको प्रयोग गरिनुपर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा एनवाईईएफका अध्यक्ष सन्दीप अग्रवाल पूर्व अध्यक्षहरु अनुप अग्रवाल, राकेश साह, उपाध्यक्ष विकास ठाकुर, अर्का उपाध्यक्ष विश्वासप्रताप साह, पत्रकार अनिल तिवारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।