काठमाडौं । जेलबाट निस्किएसँगै चुनावी अभियानमा आक्रामक बनेका आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा निर्वाचनका लागि १० ग्यारेन्टी अघि सारेका छन् ।
आम आदमीले लोकसभाको २२ सिटमा प्रतिस्पर्धा गरेको छ । तीमध्ये दिल्लीका ४, पञ्जाबका १३ र हरियाणाको एक चुनाव क्षेत्रमा मतदान हुनै बाँकी छ । यी निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै अभियान सार्वजनिक गर्ने क्रममा केजरीवालले मोदीको ग्यारेन्टीलाई काउन्टर दिएका हुन् ।
केजरीवालले विद्युत, शिक्षा, विश्वस्तरीय स्वास्थ्य, चिनियाँ अतिक्रमणमा रोक, अग्निपथ, किसानका मुद्दामा ग्यारेन्टी अघि सारेका हुन् । उनको ग्यारेन्टीमा दिल्लीलाई राज्यको दर्जा, रोजगारीमा सुधार, भ्रष्टाचारविरुद्ध सशक्त कारबाही आदि छन् ।
विद्युत
प्रतिपक्षी गठबन्धनको सरकार बनेमा मुलुकभर २४ घण्टा विजुली उपलब्ध गराउने ग्यारेन्टी उनले अघि सारेका छन् ।
शिक्षा
शिक्षानै मुलुक विकासको मेरुदण्ड भन्दै केजरीवालले मुलुकभर गुणस्तरीय उच्च शिक्षा निशुल्क गर्ने ग्यारेन्टी पेश गरेका छन् । मुलुकभर शैक्षिक सुधारका लागि ५ अर्ब रूपैयाँ आवश्यक भएको उनले बताए । यो रकममध्ये आधा केन्द्रबाट र बाँकी राज्य सरकारबाट खर्च गरिने उनको ग्यारेन्टी छ ।
विश्वस्तरीय निस्शुल्क स्वास्थ्य सेवा
केजरीवालले मुलुकको स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिपक्षी गठबन्धनको सरकार बनेको खण्डमा स्वास्थ्य बीमा बीमा हटाइने उनले बताए । स्वास्थ्य बीमामा ठूलो घोटाला हुने भएकाले त्यसलाई हटाइने उनको भनाइ छ ।
चिनियाँ अतिक्रमणको समाधान
केजरीवालले चिनियाँ अतिक्रमणविरुद्ध दीर्घकालीन समाधान अघि सारिने बताएका छन् । मुलुक सबैभन्दा माथि रहेकाले भारतीय भूमिको अतिक्रमण सह्य नहुने उनको भनाइ छ ।
‘चिनियाँ अतिक्रमणबारे केन्द्र सरकारसँग प्रश्न गर्दा हाम्रो भूमिमा कोही पनि नछिरेको भन्दै झुट बोलिरहेको छ । हाम्रो सेना सक्षम छ उनीहरुलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ ।
अग्निपथमा भर्ती भएकाहरूलाई स्थायी जागिर
केजरिवारले अग्निपथ योजना अर्न्तगत भर्ती भएकाहरूलाई स्थायी जागिरको ग्यारेन्टी अघि सारेका छन् । अग्निपथ योजनाले सेनालाइ कमजोर बनाउने भन्दै उनले भनेका छन्, ‘केन्द्रले रक्षामा खर्च बढेको भन्दै यो योजना ल्याएको हो । मुलुकको सुरक्षाका लागि खर्च गर्न डराउनुहुँदैन । अग्रमोर्चामा खट्नेहरुलाइ हतोत्साही गर्न मिल्दैन ।’
किसानका लागि प्रतिवद्धता
केजरिवालले इन्डिया गठबन्धनको सरकार बनेमा किसानहरूल माग गरेबमोजिम उत्पादनको न्युनतम खरिद मुल्य तोकिने बताएका छन् ।
‘कृषकहरुलाई मारेर कसैको वृद्धि हुनेछैन । उनीहरु अहिले आत्महत्यासम्मको स्थितिमा पुगेका छन् । यो निकै दुस्खद हो । आफ्ना अधिकारका लागि आवाज उठाउँदा उनीहरुमाथि ज्यादती भएको जगजाहेर छ । कृषि उत्पादनको उचित मूल्य तोक्ने ग्यारेन्टी गर्छौँ,’ उनले भनेका छन् ।
दिल्लीलाई राज्यको दर्जा
तीनपटक दिल्लीको मुख्य मन्त्री बनेका केजरिवालले दिल्लीलाई राज्यको दर्जा दिने ग्यारेन्टी अघि सारेका छन् ।
रोजगारी
केजरिवालले २ करोड जनसंख्यालाई रोजगारी सुनिश्चित गर्ने ग्यारेन्टी अघि सारेका छन् । एक वर्षभित्र २ करोडलाई रोजगारी दिने उनको योजना छ ।
भ्रष्टाचारविरुद्ध सशक्त
केजरीवालले भ्रष्टाचारविरुद्ध सशक्त हुने ग्यारेन्टी अघि सारेका छन् । ‘वर्तमान राज्य प्रणालीमा सोझा र निर्दोष जेल जाने र त्यसका लागि राज्यका संयन्त्रले नै सरकारी प्रभावमा सहयोग गर्ने प्रचलन बढेको छ । यो अवस्थाको अन्त्यका साथै भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन हुनेछ’, उनले भनेका छन् ।
पञ्जाबमा माथिदेखि तलसम्मका भ्रष्टाचारमा कमी ल्याएको अनुभवका आधारमा पूरा मुलुकमा त्यसैगरी काम गर्ने उनले बताए ।
जीएसटी नीतिमा सुधार
केजरीवालले जीएसटी नीतिमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वस्तु तथा सेवामा लगाइएको कडा कर प्रणालीले १२ लाख ठूला व्यापारीले व्यापार छोडेकाले त्यसलाई व्यवहारिक बनाइने उनको ग्यारेन्टी छ ।
‘