वीरगन्ज । जनता समाजवादी पार्टी नेपालमा आएको फुटको पाराकम्प मधेस प्रदेशमा गएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन पनि आईतबार फिर्ता लिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएर सरकारबाट आइतबार बाहिरिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपाल नेतृत्वको मधेस सरकारमा पाराकम्प गएको हो । नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् । माओवादी संसदीय दलका नेता भरत प्रसादलाई विना विभागीय मन्त्रीको सपथ खुवाएर उनले दावी गरेको अर्थमन्त्रालय दिने मुख्यमन्त्रीले आश्वासन दिएपनि रोजेको मन्त्रालय नदिएर उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेको थियो ।
तर, मन्त्री साहले अस्वीकार गरेका थिए । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र बुझाई सकेका छन् ।
एमालेका सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । एमालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।
उपेन्द्र यादवको पार्टीबाट अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी फुटेपछि मधेसमा पनि ५० प्रतिशत सांसद आफूहरुको पक्षमा रहेको दावी राई पक्षले गरेको थियो । तर, मधेस प्रदेशका जसपा नेपालका सांसदहरु भ्ने खुलेका छैनन् ।
पार्टी फुटाएर जसपा दर्ता गरेकै दिन मधेस प्रदेश जसपा नेपालको संसदीय दलको बैठक बसेर संस्थापन पक्षलाई छोडेर कतै नजाने निर्णय गरेका थिए ।
माओवादी केन्द्र र एमाले सरकारबाट बाहिरिएपछि जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको मधेस सरकार अल्पमतमा परेको छ । एमालेको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच सहमति भएको छ ।