वीरगन्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको छ । ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा जसपालाई आयोगले ११० नम्बरमा सोमबार दर्ता गरेको हो ।
जसपा नेपालबाट छुट्टिएका राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाइएको हो ।
नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगमा नयाँ दल दर्ता भएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले सामाजिक सञ्जालमा पोष्ट गर्दै बधाई दिएका छन् । उनले लेखेका छन, ‘निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गरेकोमा संधर्षरत, संघीयता पक्षधर,पहिचानवादी र विकासप्रेमी सबैमा शुभकामना तथा बधाई ॥’