वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १७ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपालको चिनीमिल स्थित आफ्नो गण विशेष कार्यक्रमको आयोजना गरि आज १७ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरी बललाई व्यवस्थित, व्यवसायिक र नागरिकमैत्री बन्न निर्देशन दिए ।
उनले खुला सीमाका कारण अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षा चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरीले आफ्नो साधन स्रोत र जनशक्तिलाई परिचालन गरेर हरसम्भव सांगठनिक कर्तव्य पालना गरिरहेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ड्राईपोर्ट भन्सार कार्यालयका प्रमुख डाक्टर रामप्रसाद मैनाली, वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी अधिकृत र संघसंस्थाहरु सम्मानित
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर अन्तर्गतका विभिन्न क्षेत्रमा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान समेत गरिएको छ ।
सशस्त्र प्रहरी कार्यालय १३ नम्बर गण हेडक्वाटर पर्साले अपरेशनल अन्तर्गत राजस्व, विपद व्यावस्थापन, सीमा अपराध, अवैध चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट भएका सशस्त्र प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी नायव उपरीक्षकहरु संगम श्रेष्ठ, देवेन्द्र सिंह लगायत सशस्त्र प्रहरी अधिकृत र कर्मचारीहरु रहेका छन् । त्यस्तै आन्तरिक प्रशासनिक व्यावस्थापन र खेलकुद प्रतियोगितामा विजयीहरुलाई पनि सम्मान गरिएको सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।
यसैगरी सशस्त्र प्रहरीलाई सहयोग गर्ने विभिन्न १४ वटा संघ संस्था र व्यक्तिहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए ।
सम्मानित हुनेहरुमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, वीरगन्ज सामुदायि आँखा उपचार केन्द्रका मेडिकल संयोजक महेश सिंह धामी, नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष संदीप अग्रवाल, पूर्व अध्यक्ष अनुप अग्रवाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायत १४ वटा संघसंस्था र व्यक्तहरु रहेका छन् ।