वीरगन्ज । अर्थमन्त्री बर्षमान पुन यतिखेर अमेरिका भ्रमाणमा रहेका छन् । भी–२० बैठकमा गएका अर्थमन्त्री पुनले नेपालमा अमेरिकी लगानी बढाउन आग्रह गरेका छन् ।
अमेरिकी कम्पनीहरुसँगको छलफलमा उनले गरेको आग्रहलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । छलफलमा अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ) लगानी गर्ने तयारी गरेको छ । द कोकाकोला कम्पनीको ग्लोबल पब्लिक पोलिसी एण्ड सस्टेनेबिलिटीका उपाध्यक्ष माइकल गोल्जम्यानले नेपालमा ५ करोड डलर ग्रिनफिल्ड इन्भेष्टमेन्ट (पूर्णनयाँ परियोजनामा लगानी) गर्न लागेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सरकारले जग्गा प्राप्ति लगाएतका क्षेत्रमा सहजीकरण गरे कोकाकोलाले नेपालमा ५ करोड डलर लगानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको गोल्जम्यानले बताए ।
स्थिर नियामक वातावरण बनेमा कोकाकोला नेपालमा लगानी गर्ने पहिलो अमेरिकन कम्पनी पनि भएकोले थप १५० वा त्यो भन्दा बढी समय नेपाल बस्न चाहना रहेको बताए ।
त्यसका लागि सरकारले स्थिर वातावरण बनाउनु पर्ने उनको धारणा थियो । भेटमा अर्थमन्त्री पुनले सरकारका तर्फबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।
भेटका क्रममा वाल्ट डिजनीका जो वेल्चले डिजनी र हटस्टार सेवा दिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो कम्पनी दर्ताको क्रममा रहेको बताए । नेपाली बजारमा धेरै अवसरहरु देखेकोले स्थिर वातावरण भएमा लगानी थप गर्ने योजनामा रहेको पनि उनले बताए ।