वीरगन्ज । चालु आर्थिक वर्षको ९ महिनामा ४३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्म नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र पुराना स्थापित कम्पनीहरुको शेयर खरिद सम्झौतामार्फत १२ अर्ब ९७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
चैतमा मात्रै ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । चैतमा आएको लगानी प्रतिवद्धतामध्ये पर्यटनमुलक क्षेत्रमा ४४ प्रतिशत, सेवामुलक क्षेत्रमा ३१ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा १३ प्रतिशत तथा सूचना प्रविधि र कृषि क्षेत्रमा समान ६ प्रतिशतका दरले लगानी प्रतिवद्धता आएको हो । तर विदेशी लगानीको प्रतिबद्धताअनुसार रकम भित्रने नगरेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
चैतसम्म आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी ४५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा १ सय २२ वटा आयोजना थपिने छन् । यस्तै सेवा क्षेत्रमा ९३ वटा आयोजनामार्फत ३५ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा ३२ वटा आयोजनामार्फत १२ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ९ वटा परियोजनामार्फत ३ प्रतिशत, पूर्वाधार क्षेत्रमा ६ वटा आयोजनामार्फत २ प्रतिशत, कृषिमुलक क्षेत्रमा ५ वटा आयोजनामार्फत २ प्रतिशत र खनिज क्षेत्रमा २ वटा आयोजनामार्फत १ प्रतिशतले लगानी प्रतिवद्धता आएको हो । प्रतिबद्धता भएको सबै विदेशी लगानी त्यसै अवधिमा आउने, नआउने टुङ्गो नहुने लगानी बोर्डले जनाएको छ ।