वीरगन्ज । नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मधेश प्रदेशमा वीमा साक्षरताको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । अन्य प्रदेशको तुलनामा मधेसमा अझै पनि बिमा साक्षरता कमजोर रहेकोले वीमाले जोखिम वहन गर्छ भन्ने सन्देश आमसर्वसाधरणमा पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
प्राधिकरणले बिहीबार वीरगन्जमा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरकृयामा अध्यक्ष सिलवालले लामो अवधिको वीमाले आकर्षण कम भएको बताउदै उनले बिमाको समायावधि ५ बर्ष सम्मको पनि हुनु पर्ने धारणा राखे । सिलवालले सामाजिक सुरक्षा भत्ताको केही रकमबाट बिमा गर्ने बानीको विकास गरिनु पर्नेमा जोड दिदै अध्यक्ष सिलवालले प्राधिकरणले नेपाल सरकारको सम्पत्तिको बिमा गर्ने अभियान सन्चालन गरेको जानकारी दिए ।
देशभरमा ४४ प्रतिशत वीमा बजारको हिस्सा रहेकोमा मधेस प्रदेशभर जम्मा ९ प्रतिशत वीमा बजार मात्रै रहेको जानकारी गराएको छ । मधेसमा जनचेतनाको कमी र वीमासम्बन्धमा सर्वसाधारणको विश्वसनीयतामा कमीका कारणले यस्तो अवस्था आएको वीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बताए ।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वीमा व्यावसायमा सात प्रदेशभन्दा मधेस प्रदेश अत्यन्त कमजोर पाईएकोले वीमा साक्षरता बढाउनका लागि सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने हुँदा सञ्चारकर्मीहरुसँग प्राधिकरणले अन्तरकृया गरेको प्राधिकरण मधेस प्रदेशकी प्रमुख कुशुम शर्माले बताईन् ।
वीमा व्यावसाय र बजार प्रवद्र्धनमा सञ्चार माध्यमहरुको सरकारात्मक भूमिका रहने भएकोले मधेस प्रदेशमा वीमा सम्बन्धी समाचारहरु पनि कम आएको पाईएको प्राधिकरणका निर्देशक लालले बताए । वीमा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि वीमा प्राधिकरणले संस्थागत सुशासन ऐन जारी गरी वीमा कम्पनीहरुको संस्थागत सुधारका लागि पनि प्रयास गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्सा र बाराका सञ्चारकर्मीहरु र विभिन्न वीमा कम्पनीका प्रदेश प्रमुख र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।