वीरगन्ज । ठोरी गाउँपालिका वडा नम्बर ५ निवासी साविक सुवर्णपुर गाविसका पूर्व अध्यक्ष जरी लामाको निधन भएको छ । नेपाली राजनीतिमा सुवर्णपुर क्षेत्रबाट सक्रिय रहेका लामा विगत केही बर्षदेखि क्यान्सर रोगले पीडित थिए । ठोरी क्षेत्रको चर्चित वरिष्ठ राजनितिज्ञ, स्पष्टवक्ता लामाको बुधबार साँझ ५ः३० बजे ६९ बर्षको उमेरमा निधन भएको हो ।
केही महिना पहिले उनी भारतमा समेत उपचारका लागि गएका थिए । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कॅाग्रेसको तर्फवाट ठोरी गापा अध्यक्ष पदको उम्मेदवार जरी लामा त्यसपछि जनता समाजवादी पार्टीमा लागेर जिल्ला उपाध्यक्ष समेत बनेका थिए । उनको निधनप्रति संघीय सांसद, ठोरी वासी, आदिवासी जनजाति समुदाय लगायतले दुख व्यक्त गरेको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री प्रदीप यादव, ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज निरज पिठाकोटे मगर लगायतले दुख व्यक्त गर्दै लामाको निधनले ठोरी क्षेत्रको राजनीतिका एक नक्षेत्र नै गुमाउनु परेको जनाएका छन् । लामा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय सदस्य समेत रहेका थिए ।
लामाको निधनको शोकमा गाउँपालिकाले एकदिन शोक विदा दिने भएको छ । पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीका अग्रज नेता लामाको निधन भएको शोकमा शुक्रबार एकदिन पालिकामा शोक विदा दिने सूचना सार्वजनिक गरेका छन् ।