वीरगन्ज । रिएजेण्ट लगायत प्रयोगशालामा म्याद गुज्रिएको औषधि राखेको आरोपमा पक्राउ परेका वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा कार्यरत डा. संजय कुमार साहलाई रिहाई गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका डाक्टर साहको रिहाईको माग गरेको हो ।
सोमबार राति प्रहरीले मेडिकल कलेजको ब्लक (ए) मा रहेको ल्याबमा छापामारी गर्दा सन् २०२१ मै म्याद सकिसकेको केमिकल सहितका औषधी बरामद भएपछि कलेजका एमडी शाहनवाज अन्सारी र प्रयोगशाला इन्चार्ज साहलाई नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले लगाएको आरोपहरुलाई भने कलेज प्रशासनले समेत विज्ञप्ती जारी गर्दै खण्डन गरेको छ ।
ल्याब टेस्टको प्रोटोकल पालना गरेको तथा म्याद सकिएको केमिकलहरु रिएजेन्टहरुको निश्चित मापदण्ड अपनाएर मात्र डिस्पोज गर्नुपर्ने भएकोले एकातिर भण्डारण गरी राखिएिको कलेज प्रशासनले दावी गरेको छ । कुनै पनि म्याद गुज्रेका रिजेन्ट भुलबस पनि प्रयोग भएमा मेशिनले आफै रिजेक्ट गरिदिने सिस्टम रहेकोमा म्याद गुज्रेका रिजेन्ट प्रयोग हुने सम्भावना शुन्य रहेको संघका सचिव डा.नौसाद हकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पेशागत दायित्व निर्वाह गर्नेक्रममा कहिँ कतै सामान्य कमिकमजोरी त्रुटी भएमा त्यसको सत्यतथ्य छानविन गर्ने कानुनी प्रक्रियाहरु रहेको भएपनि प्रहरी प्रशासनले कपोकल्पित घटनालाई आधार बनाएर चिकित्सकको मानमर्दन गर्नेगरी अपराधिक शैलीमा प्रयोगशालाका ईन्चार्ज साहलाई पक्राउ गरिनु उचित नभएको संघका सचिव नौसादले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले घोर भर्तसना गर्दै डा. साहलाई सम्मानपुर्वक अबिलम्ब रिहाई गर्न प्रहरी प्रशासन समक्ष माग गरेको छ । अन्याथा संघले जुनसुकै संघर्ष गर्न तयार रहेको विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ । अस्पतालका कर्मचारीहरुले पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक एमडी शाहनवाज अन्सारीको समेत रिहाईको माग सहित मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडी कुँचो सहित प्रर्दशनमा गरेका थिए ।
प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले ‘हाम्रो एमडीलाई रिहा गर’ ‘पुलिस प्रशासन मुर्दावाद’ लगायतका नारा लगाएका थिए । शाहनवाज अहिले प्रहरीको हिरासत छल्न उपचारको बाहानामा वीरगन्ज हेल्थ केयरको डिलक्स केबिनमा भर्ना रहेका छन् । पक्राउ परेका प्रवन्ध निर्देशक शाहनवाज अन्सारी र डाक्टर सञ्जय साहलाई पर्सा जिल्ला अदालतले दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको र अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।