वीरगन्ज । वीरगन्ज कलेजले एसइइ परीक्षा दिएका विद्यार्थीहरुलाई कानून विषय अध्ययनको विषयमा एकदिने अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको छ । लक्ष्य नेपाल र वीरगन्ज कलेजको संयुक्त आयोजनामा ‘ल अफ्टर एसईई’ अर्थात एसईई दिएपछि कानून किन पढ्ने भन्ने विषयमा एकदिने अभिमूखिकरणको आयोजना गरेको हो ।
कार्यक्रमको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ का प्रदेशसभा सदस्य श्याम पटेलले उदघाटन गर्नुभएको थियो । अभिमूखिकरणको उदघाटन गर्दै प्रदेशसभा सदस्य पटेलले देशमा पछिल्लो समयमा कानूनका माग बढ्दै गएको र यसमा विद्यार्थीहरुको पनि आकर्षण भएको बताउनुभयो । कानून सबैले जान्नुपर्ने भएकोले कानून विषयको अध्ययन अझ महत्वपूर्ण रहेको बताउनुभयो ।
वीरगन्ज कलेजले पहिलो पटक कानून विषयको अध्ययन अध्यापन गरेर वीरगन्ज क्षेत्रमा कानूनका विद्यार्थीहरुले धेरै अवसर पाएको बताउनुभयो । वीरगन्ज कलेज संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले वीरगन्ज क्षेत्रमा कानून विषयको अध्ययनको माग अत्यधिक भएकोले उपत्यका बाहिर पहिलो पटक प्लस टुमा कानून र पत्रकारिता विषयमा वीरगन्ज कलेजले अध्यापन शुरु गरेको बताउनुभयो ।
लक्ष्य नेपाल संस्थाकी उपाध्यक्ष रोशनी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि वीरगन्ज कलेज संचालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरी, क्याम्पस प्रमुख विनोद गुप्ता, अधिवक्ताहरु धन बहादुर थापा, अजय स्वर्णकार, रामानन्द महतो, ट्रिब्यूनन्युज अनलाईनका सम्पादक नीरज पिठाकोटे, वीरगन्ज कलेजका शिक्षक दिपेश कर्ण लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा अधिवक्ताहरु धन बहादुर थापा, रामानन्द महतो, अजय स्वर्णकार लगायतले प्रशिक्षण दिएको कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणमा पर्सा र बाराका एसइइ परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।