वीरगन्ज । भारतले विद्युत व्यापार सम्झौतामा गरेको नयाँ निर्णयले नेपाली उद्योगी व्यावसायीहरुलाई चिन्तित बनाएको छ । भारतीय इनर्जी एक्सचेन्जको ‘रियल टाइम’ तथा ‘डे अहेड’ बजारबाट दिउँसोको समयमा मात्रै विद्युत् निर्यात गर्न पाउने भारतले चैत १५ गते बिहीबार स्वीकृत गरेर पठाएको विद्युत् व्यापार सम्झौतामा उल्लेख गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
भारतले ग्यासबाट उत्पादित विद्युत् बिक्री गर्ने रणनीति अनुरुप नेपाललाई पनि ग्यासबाट उत्पादन गरिएको विद्युत खरिद गर्न दबाव बढाउन यस्तो निर्णय गरिएको हुनसक्ने अनुमान गरिएको छ । ग्यासबाट उत्पादन हुने विद्युत नेपालले जुनसुकै बेला आयात गर्न पाउने भनिएको छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारतीय रुपैयाँ भारतीय रुपैंया पर्न जान्छ । ग्यासको विद्युत् महँगो हुने भएकाले त्यो आयात नगर्ने अडान विद्युत् प्राधिकरणले लिएको छ ।
साँझ ६ देखि राति १०–११ बजेसम्म विद्युत् माग सबैभन्दा बढी हुन्छ । तर, साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म विद्युत् आयात गर्न नपाउँदा त्यसले पुनः लोडसेडिङमा बस्नुपर्ने हो कि भनेर सर्वसाधारणमा समेत चिन्ता बढेको छ । यसले नेपालको प्रमुख प्रवेशद्वारा वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवासायीहरुलाई थप चिन्तित बनाएको हो । देशमा लोडसेडिङ मुक्त घोषणा गरिएपनि अघोषित लोडसेडिङको मार खेपी रहेका वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यावसायीहरुलाई भारतीय निर्णयले थप विद्युत संकटको सामना गर्नुपर्ने देखिएको छ ।
भारतबाट आपूर्ति हुदै आएको विद्युत भारतले दिउँसोको समयमा मात्रै नेपाललाई विद्युत् निर्यात गर्ने निर्णयले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योग कलकारखानामा विद्युत आपूर्ति अवरुद्ध हुने चिन्ताले व्यावसायीहरु चिन्तित बनेका हुन् ।
अहिले लोडसेडिङ नभएको अवस्थामा पनि वीरगन्ज पथलैया औद्योगिक करिडोरमा भने ८ देखि १० घण्टा अघोषित लोडसेडिङ हुने गरेको उद्योगीहरु बताउछन् । आर्थिक मन्दीले उद्योगहरुले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको अवस्थामा उर्जामा आएको संकटले थप मारमा पर्ने वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए ।
उनले भने, ‘देशमा लोडसेडिङ मुक्त भनिएको छ । मुख्य विद्युत खपत हुने औद्योगिक करिडोरमा अहिले पनि ८ देखि १० घण्टा विद्युत हुदैन । अब भारतले पनि दिउँसो मात्रै विद्युत निर्यात गर्ने निर्णय गरेको छ । यो निर्णयले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यावसायीहरु थप चिन्तामा परेका छन् ।’
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले जलश्रोतको धनि देश नेपाल विद्युतमा भारतको भर पर्नुपर्दा बार्षिक विद्युतको समस्यामा अल्झिरहनु परेको बताउछन् । उनी भन्छन्, ‘अहिले उद्योगहरुमा उत्पादन पनि कम भएको छ । लोडसेडिङले थप मारमा परेको अवस्थामा भारतले दिउँसो मात्रै विद्युत निर्यात गर्ने भनेपछि अहिले राति सञ्चालन गरिएका उद्योगहरु बन्द गर्नुपर्ने अवस्था हुन्छ । यसको लागि सरकारले उर्जा संकट समाधानका लागि सरकारले पहल गर्नुपर्छ ।’