वीरगन्ज । बहुदरमाई नगरपालिकामा चारदिने नमूना युवा नगरसभाको प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको समापन समारोहमा बोल्दै बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन सा तेलीले नमून युवा नगरसभाले नगरका युवा पुस्तालाई स्थानीय सरकार सञ्चालन र विकास प्रकृयाको बारेमा जानकारी प्राप्त गर्ने अवसर पाएको बताउनुभयो ।
उहाँले यस्तो प्रशिक्षण नगर कार्यपालिकाका सदस्यहरुलाई समेत दिन पाए कार्यपालिका बैठक तथा नगरसभा आयोजनामा पनि उपयोगी हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले युवा नगर सभाको प्रशिक्षणले युवाहरुमा नेतृत्व विकास र क्षमता विकास हुने भन्दै यसले युवा पुस्तालाई जिम्मेवारी र दायित्वबोध पनि गराउने बताउनुभयो ।
युवा परिषदको समन्वयमा बहुदरमाई नगरपालिकाको सहयोगमा वीरगन्ज कन्सल्टेन्सी एण्ट ट्रेनिङ सेण्टरको आयोजनामा भएको कार्यक्रममा युवा परिषदका पर्सा अध्यक्ष अमिताभ बच्चन दास, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युवा परिषदकी सदस्य सुस्मिता चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वीरगन्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरका सुनिल कुमार रौनियारले गर्नुभएको थियो । प्रशिक्षणमा मुख्य प्रशिक्षक श्याम साह र सह प्रशिक्षक एञ्जल मगरले प्रशिक्षण दिनुभएको थियो । चरदिनसम्म सञ्चालन भएको तालिममा ३५ जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।
उनीहरुले प्रशिक्षणले आफूलाई बोल्न सक्ने भएको र यसले थप आफूलाई सक्षम बनाउन सहयोग पु¥याएको बताएका थिए । उनीहरुले चारदिनको प्रशिक्षणपछि नमूना नगरसभाको अभ्यास समेत गरेका थिए ।