वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दलबल सहित मधेसमा आन्दोलनका लागि गुहार माग्दै हिडेका छन् । चैत २७ गते काठमाडौं केन्द्रीत आन्दोलनका लागि मधेसको साथ खोज्दै बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, बुद्धिमान तामाङ ज्ञानेन्द्र शाही, खुश्बु ओली सहितका नेताहरु लिएर मधेसमा आन्दोलनका लागि साथ दिन आग्रह गरेका छन् ।
मंगलबार वीरगन्जमा भएको आमसभामा उनले अहिलेको भ्रष्ट व्यावस्थाको अन्त्य गरी शुसासन कायम गर्नका लागि परिवर्तन आवश्यक रहेको बताउदै मधेसबाट अभियान शुरु गरेको बताए । अहिले देशमा कांग्रेस, एमाले, माओवादी जुनसुुकै पार्टीका नेतालाई प्रधानमन्त्री बनाएपनि परिवर्तन असम्भव रहेको जिकिर गरे ।
यो व्यावस्था कांग्रेस एमाले, माओवादी मिलीमिली संविधान लेखेको भन्दै ठूला भ्रष्टाचारहरुमा आफू नपर्ने गरी भागबण्डा गरेको आरोप लगाए । उनले भने, ‘मधेसको नारा लगाएर विभिन्न टुक्रामा चुनाव जितेकाहरु एक ठाउँमा बसेर प्रधानमन्त्री पनि दाबी ग¥यो भने पाउने संसदीय गणितको अवस्था छ ।
कांग्र्रेस एमाले, माओवादी जो होस यीनीहरुलाई सातचोटी भोट दिएर पनि देश बनाउने होईन कि देश बेचेर खान्छन् भन्ने तपाँईहरुलाई थाहा छ । निरन्तर जिताएर भूल गरिरहेका छौं आउने पिँढीको लागि पनि गल्ती गरिरहेका छौं । हामीले अब मत परिवर्तन गर्नुपर्छ । अब पर्खने सुविधा छैन ।’
लिङदेनले भने, ’हामीले छोराछोरी जन्मायो, अलि अलि पढ्न लेख्न सक्ने बनायो । राहदानी बनायो, अरबियनहरुको नोकर बनाउन विदेश पठायो । त्यो पनि को जान सक्ने अलि अलि पैसा भएका, सहकारीले पत्याएका, साहुले पत्याएकाहरु ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् । तर, साहुले पनि नपत्याउने पासपोर्ट पनि बनाउन नसक्ने युवाहरु दिल्ली पञ्जाब हरियाणा पुगेका छन् ।’
राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजा रहने, जनताले प्रत्यक्ष निर्वाचनबाट चुनेको कार्यकारी प्रधानमन्त्री हुनुपर्ने व्यावस्था हुनुपर्ने माग राखेको बताउदै लिङदेनले प्रदेशको खारेज, संसदको संख्या घटाउने, जिल्ला समन्वय समिति खारेज गर्नेदेखि सांसदबाट मन्त्री बन्ने व्यावस्था पनि हटाउनुपर्ने बताए ।
मधेसका नारा लगाएर चुनाव जितेका टुक्रे पार्टीहरु मिलेर प्रधानमन्त्री पाउन सक्ने संसदको गणित भएपनि मधेसी दलहरु मिल्न नसकेको बताए । कृषि अनुदानको नाममा पाँच बर्षमा १ खर्ब रुपैंया वितरण गरेपनि त्यो अनुदान किसानको हातमा नपुगेको बताए । यसले देशमा कुन प्रकारको लुटतन्त्र र भ्रष्टाचार भईरहेको छ भन्ने यो उदाहरण भएको बताए । जनकपुरको जानकी मन्दिरमा लगाएको मार्बलको प्रसँग उठाउँदै लिङदेनले मन्दिरमा भगवानको नाममा समेत भ्रष्टाचार गरेको बताए ।
पूर्वराष्ट्रपति, उपराष्ट्रपति, लगायतहरुको सुविधाका लागि विदेशीसँग ऋण लिनुपर्ने अवस्था रहेको बताउदै यसले देशको अर्थतन्त्र र विकास नहुने लिङदेनको भनाई छ । राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पर्साबाट समानुपातिक सांसद विना जैसवाल, मधेस प्रदेशसभा सदस्य कञ्चन दिक्षा, बागमती प्रदेशसभा सदस्य कुमारी तामाङ लगायतका नेतृहरुले पनि सम्बोधन गरेका थिए ।