वीरगन्ज । पर्साको बहुदरामाई नगरपालिकामा हिजोदेखि चारदिने युवा नमूना नगरसभा प्रशिक्षण शुरू भएको छ । नगरपालिकाको विषयगत समितिको भवनमा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका ५० जना युवाहरूलाई नगरसभाको बारेमा जानकारी गराउनुको साथै नगरसभा सञ्चालनको विधि, प्रकृयाको बारेमा प्रशिक्षण दिईरहेका छन् ।
युवा परिषदको समन्वयमा बहुदरमाई नगरपालिकाको सहयोगमा वीरगन्ज कन्सल्टेन्सी एण्ट ट्रेनिङ सेण्टरको आयोजनामा भएको प्रशिक्षणमा मुख्य प्रशिक्षक श्याम साह र सह प्रशिक्षक एञ्जल मगरले प्रशिक्षण दिईरहेका छन् ।
युवा परिषद पर्साका अध्यक्ष अमिताभबच्चन दासको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे, जिल्ला सदस्य रञ्जित यादव लगायतको आतिथ्यता रहेको थियो ।
चारदिनसम्म चल्ने प्रशिक्षणबाट युवाहरुलाई नगरसभाको विषयमा जानकारी गराई नगरसभामा हुने गतिविधि, सञ्चालनको विधि, प्रकृया लगायतका विषयमा जानकारी गराईने र अन्तिममा नमूना अभ्यास समेत गराईने प्रशिक्षकहरुले बताएका छन् ।
नमूना अभ्यासले युवाहरुमा क्षमता विकासको साथै नेतृत्व विकास पनि हुने युवा परिषद नेपाल पर्साका अध्यक्ष अमिताभबच्चन दासले बताए । उनले युवाहरुको जोश, जाँगरमा उनीहरुको क्षमता पहिचान र प्रदर्शन गर्ने अवसरको रुपमा युवा परिषदले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।