वीरगन्ज । रोटरी क्लब अफ वीरगन्ज र रोट्र्याक्ट क्लबले वीरगन्जको एक विद्यालयमा डिजिटल कक्षाको स्थापना गरिदिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थीको लागि प्रविधि मार्फत अध्ययनका लागि १ लाख २५ हजार मूल्यको डिजिटल कक्षाको स्थापना गरिएको हो ।
डिजिटल कक्षाको मधेस प्रदेश सरकारका पूर्व उर्जा तथा सिंचाई विकास मन्त्री तथा रोटरी क्लबका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले रिबन काटेर उद्घाटन गरेका थिए । रोटरी क्लबका अध्यक्ष दिपक तुल्स्यान र रोट्रयाक्ट क्लबका अध्यक्ष सन्नी सर्राफको अध्यक्षतामा भएको
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र प्रसाद यादव, युवा नेता दिलिपराज कार्की, वीरगन्ज सामुदायिक अस्पतालका महेश सिंह धामी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, रोटरी र रोट्रयाक्ट क्लबका सदस्यहरू, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
करिब १ लाख २५ हजार बराबरको लागतमा स्थापना गरिएको डिजिटल कक्षाबाट विद्यार्थीलाई अध्ययनका लागि सहज हुने र सिकाई उपलब्धि हुने दाता संस्था र विद्यालय परिवारले अपेक्षा गरेको रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आयुष गुप्ताले बताए । संस्थाद्वारा विद्यार्थीहरुलाई लामखुट्टेको टोकाईबाट सुरक्षित रहन ओडोमस मलम पनि वितरण गरेको थियो । विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीलाई ओडोमस मलम वितरण गरिएको हो ।