वीरगन्ज । विमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विमा कम्पनीहरुले विमा गरेका ग्राहकहरुलाई दावी भुक्तानी दिने बेला अनावश्यक दुख दिएमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
आर्थिक नगरी वीरगंजमा विमा सम्बन्धी एक हप्ताको कार्यक्रम सहित वीरगन्ज आएका प्राधिकरणका अध्यक्ष सिलवालले बिरगंजमा भएको छलफल र अन्तरक्रिया कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
प्राधिकरणले जारी नयाँ सम्पति बीमा सम्बन्धी र समसमायिक विषयमा उद्योगी व्यापारीहरुको जिज्ञासामा प्रकाश पार्दै अध्यक्ष सिलवालले कोरोनाको भुक्तानीमा भएको ढिलाइले आम नागरिकलाइ दुखी तुल्याए र वीमा क्षेत्र बदनाम भएको बताए । उनले आफ्नै कार्यकालमा यसको समाधान गर्ने विश्वास पनि दिलाएका छन ।
बीमा क्षेत्रमा सर्वाधिक विवादित पक्ष दावी भुक्तानीमा आफू सचेत रहेको भन्दै दावी भुक्तान नगर्ने कम्पनीहरुलाई कारवाही गर्न आफू नहिच्किचाउने बताए । यदि कसैको दावी भुक्तानमा कम्पनीले अनावश्यक दुख दिने वा अनैतिक लाभ लिन खोज्ने कार्य भएमा त्यस्ता कर्मचारी र कम्पनी दुबै कारवाहीको दायरमा आउने बताए ।
प्राधिकरणद्वारा दर रेट वृद्धि र खाईपाई आएको सहुलियतमा कटौती गरेको विषयमा अध्यक्ष सिलावालले दर रेट बढाउने काम एक्लो प्राधिकरणको मात्रै नभएको बताए । उनले दर रेटको लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, अर्थ बिज्ञ लगायत सबै सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरि विगत दुई वर्षदेखी वृद्धि गरेको प्रष्ट पारे ।
यसमा कसैलाई केही समस्या र अप्ठयारो परे लिखित रुपमा तर्क सहित निवेदन दिन आग्रह गर्दै त्यसमा प्राधिकरण सच्चिन तयार रहेको पनि बताए । बिमालेख जारी गर्ने समय सीमा बैकको कारोबार समय सम्म सीमित गर्दा यसले कारोबारलाई प्रत्यक्ष असर गरेको बिमितहरुको गुनासोको बारेमा अध्यक्ष सिलवालले बैक समयपछि पनि बिमालेख जारी गर्न प्राधिकरणले नरोकेको स्पष्ट गरे ।
उनले बैक समय पछि आएको कुनै पनि चेक वा नगद भोलीपल्टको दिनको पहिलो प्रहर भित्र बैकमा जम्मा हुनु पर्नेमा बीमकहरु नै सजक रहन निर्देशन दिए । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेश प्रमुख कुसुम शर्मा, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्व्य हरि गौतम र माधव राजपालको उपस्थिति रहेको थियो । प्राधिकरणकै निर्मल खनालले संचालन गरेको सो छलफल कार्यक्रममा प्रदेश भरिका बीमा कम्पनीहरुका प्रदेश एव शाखा प्रमुखहरु लगायत उद्योगी व्यवसायी, व्यापारीहरुको बाक्लो सहभागिता रहेको थियो ।