वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले फागुन महिनामा तीन करोड भन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले विभिन्न मिति समय र स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज भित्र्याउन लागेको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न मालबस्तुहरू, हार्डवेयर पार्ट्स, विभिन्न किसिमका लत्ताकपडाहरू, पेयपदार्थ कोल्ड ड्रिंक्स, जुत्ता चप्पल र भाडाकुडा लगायतका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरीले फागुन महिनाभरीमा ३ करोड ३१ लाख २ हजार ३२३ मूल्य बराबरका सामानहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै ९३ जना विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउपनि पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध ट्याब्लेट २५८५, गाँजा १४ के.जी., खैरो हिरोइन २० ग्राम ९५ मि.ग्राम र कोरेक्स ८ बोत्तल बरामद गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।