वीरगन्ज । वातावरण जोगाउनका लागि वीरगन्जका युवाहरु सक्रिया देखिएका छन् । वातावरण : जिउने आधार नामक संस्थाले २०७४ सालदेखि चलाउदै आएको अभियानले पर्साका युवाहरुलाई पनि हौसाएको हो ।
२०७४ साल मंसिर ४ गतेबाट वातावरणः जिउने आधार नामक संस्थाले शुरु गरेको वातावरण संरक्षणका लागि सचेतना अभियानले ६ बर्षको अवधिमा धेरै विद्यालयहरुमा वातावरण संरक्षण सम्बन्धी सचेतनाहरु फैलाउनुका साथै विभिन्न कार्यक्रमहरु मार्फत पनि जागरण फैलाउदै आएको संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताए ।
उनका अनुसार संस्थाले अहिलेसम्म विभिन्न स्थानमा १६ वटा वातावरण संरक्षण र सरसफाई सम्बन्धी कार्यक्रमहरु सम्पन्न भईसकेको छ । अभियानलाई सशक्त बनाउनका लागि अझै नयाँ सदस्यहरु जोड्ने र जागरण फैलाउने कामलाई निरन्तरता दिनेछ । उनकै अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण पृथ्वीमा रहेका सम्पूर्ण प्राणीका लागि आवश्यक रहेको र यसको संरक्षणमा मानवको पहिलो दायित्व भएको बताएका छन् ।
वातावरण प्रदूषणले मानव जीवन जोखिममा रहेको भन्दै युवाहरुले वातावरण संरक्षणमा देखाएको सक्रियता प्रशंसा योग्य रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, पत्रकार राजन रौनियार लगायतले बोलेका थिए ।
वीरगन्जमा शनिबार (आज) सम्पन्न वातावरणः जिउने आधार संस्थाको पर्सा शाखाको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नुका साथै पूराना कमिटिका सदस्यहरुलाई सम्मान समेत गरेको छ । अनामिका तिवारीको संयोजकत्वमा पर्सा शाखाको नयाँ समिति समेत गठन गरिएको छ ।
नयाँ गठन गरिएको समितिको उप समन्वयकमा लक्की वर्णवाल, सचिवमा आयुष्मा सोनी, सुमन ठाकुर कोषाध्यक्ष, आलोक मण्डल कार्यक्रक समन्वयक, उज्जवल राउत सार्वजनिक सम्पर्क अधिकारी र सदस्यहरुमा प्रार्थना साह, विकी साह र धिराज रहेका छन् । पर्यावरण संरक्षणका लागि अभियानका लाग्ने व्यक्तिलाई सन् २०२५ मा १० हजार रुपैंया नगद सहित सम्मान गर्ने समेत निर्णय गरेको संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताए ।