वीरगन्ज । विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत आज दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना हुदै छ ।
मेलाका लागि वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको फुटपाथमा सम्पूर्ण तयारी पूरा भएको वीरगन्ज कलेजले जनाएको छ । शुक्रबार र शनिबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म आयोजना हुने खाना तथा सांस्कृतिक मेलाको प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डा।दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा।चौधरीले बताए । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने कलेजको अनुमान छ ।
गतबर्ष कलेजले पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त भएको र यसवर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलामा सहभागिता जनाएको कलेजले जनाएको छ । मेलामा कलेजका पूर्व विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम रहने कलेजका प्रमुख विनोद गुप्ताले बताए ।