वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको प्रोवायोटेक इण्डस्ष्ट्रिज उद्योगका मजदुरहरुलाई सरुवा फिर्ता र पुर्नवहालीको माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।
निम्बस समूहको प्रोवायोटेक उद्योगमा ट्रेड युनियन स्थापना गर्न दर्ता प्रकृया अगाडि बढाएपछि युनियन स्थापना गर्न नदिने नियतले कम्पनीमा कार्यरत चारजना युनियनका अध्यक्ष सहित कार्यसमिति सदस्यहरुलाई कोशी प्रदेशको सुनसरी र पर्साको प्रतिष्ठान नै नरहेको विरुवागुठीमा सरुवा गरेको भन्दै प्रतिष्ठानमा प्रवेश गर्न रोक लगाएपछि ट्रेड युनियन महासंघका ध्यानाकर्षण भएको जनाएको छ ।
मजदुर संगठनले निष्काशित कर्मचारीको पुर्नवहाली हुनुपर्ने, सरुवा गरिएकाहरुलाई फिर्ता गर्नुपर्ने र ट्रेड युनियन दर्ता गर्ने सहज वातावरण बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ट्रेड युनियन महासंघ पर्साका अध्यक्ष टुनटुन तिवारीको नेतृत्वमा गएको मजदुरहरुको टोलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउ जाने टोलीमा अध्यक्ष तिवारी, केन्द्रीय सदस्य गजाधर पटेल, नेकपा माओवादी केन्द्र परवानीपुर गाउँपालिकाका अध्यक्ष लाल बहादुर पटेल लगायतको उपस्थिति रहेको थियो ।