वीरगन्ज । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद झन चर्किदै गएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विभिन्न तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको दावी गर्दै आएको छ । पत्रकार महासंघले भने संस्थागत रुपमा सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापका अध्यक्ष स्वीकार गर्न आनाकानी गरेको छ ।
त्यसैले फोनिजले संस्थापक अध्यक्षको विवाद टुंग्याउन दबाव दिने उद्देश्यले आन्दोलनको घोषणा गरेको हो । सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको रुपमा समेट्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। फोनिजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।
फोनिजले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार फागुन १४ गते सोमबार बिहान ७ बजे फोनिजका सबै समितिका नेतृत्वसँग आन्दोलनबारे भर्चुअल सम्वाद गर्ने विज्ञप्तिमा उल्लेख छ। फागुन १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासंघका सबै समितिलाई फोनिजका सबै समितिमार्फत ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित स्मरणपत्र बुझाउने पनि कार्यक्रम रहेको छ।
यस्तै फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य संघसंस्था र व्यक्तिहरूसँग छलफल गर्ने, फागुन १७ गते श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरूले महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरूले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्क्रिनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने कार्यक्रम रहेको उल्लेख छ।
स्मरणपत्र बुझाइएको मितिले ७ दिनभित्र माग पूरा नभएमा मिति २०८० फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम रहेको फोनिजले जनाएको छ ।
फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष श्रेष्ठ रहेको दाबी गर्दै इतिहासमा यी नसमेटिएसम्म निरन्तर आन्दोलन गर्ने जनाएको छ।