वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यु को समयमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरेका युवाहरु रिहा भएका छन् । हिजो जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशका समयमा सडकमा प्रदर्शन गरेका नौजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई हिजो साँझ विना शर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यस्तै हिन्दु समाजका युवाहरुले कुनैपनि किसिमको धार्मिक र सामाजिक सदभाव बिग्रिने खालको काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सर्वदलीय बैठकमा भएका सहमतिपछि उनीहरुले विज्ञप्ति जारी गर्दै हिन्दु समाजले रौतहटको इश्नाथ नगरपालिकामा भएको घटनाको विरोधमा गरिएको वीरगन्ज बन्दका क्रममा कुनै पक्षबाट झण्डा च्यात्ने र भिडियो मार्फत धम्की दिने व्यक्तिलाई कारवाहीको माग पनि गरेका छन् ।
उनीहरुले बन्दमा सहभागी केही व्यक्तिहरुले अज्ञानतावस केही व्यक्तिहरुले सदभाव विपरितका नारा लगाएकोप्रति आत्मालोचना गर्दै अबदेखि कुनैपनि धार्मिक र सांस्कृतिक सदभाव बिगार्ने खालको क्रियाकलाप नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा हिन्दु समाजका युवाहरु रञ्जित साह, विजयप्रकाश निषाद, अभिषेक तिवारी र कृष्णा चौरसियाले हस्ताक्षर गरेका छन् ।
अस्ती सोमबार बीरगन्जमा दुइ समुदायबीच उत्पन्न भएपछि वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । उत्पन्न विवाद समाधान गर्न बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । अस्तीदेखि बीरगंजमा कर्फ्यु जारी भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सर्वदलीय बैठक बोलाएको थियो ।