वीरगन्ज । स्थानीय प्रशानसले बीरगंजमा जारी गरेको कर्फ्युको आज तेश्रो दिन बिहान ६ बजेदेखि ११ बजेसम्मका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचना अनुसार कर्फ्यु हिजोको भन्दा एकघण्टा बढाएर बिहान ६ बजेदेखि ११ बजेसम्मका लागि खुला गरेको हो ।
त्यसपछि भने फेरी कफ्र्यू यथावत जारी रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अस्ती सोमबार हिन्दु समाजले आह्वान गरेको वीरगन्ज बन्दका क्रममा भएको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले जारी कर्फ्यु हिजो बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु खुला गरिएको थियो । १० बजेपछि कर्फ्यु लगाइएका क्षेत्रहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युका कारण हिजो मुख्य सडक तथा गल्लीमा रहेका सबैजसो पसलहरु पूर्णरुपले ठप्प रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाका अनुसार दोस्रो दिन हिजो कर्फ्युको पालना गराउन प्रत्येक मुख्य सडकहरु, चोकचोक र संवेदनशील स्थानहरुमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
आज पनि सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । महानगरपालिकाभित्र प्रहरीको मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोशाकमा पनि व्यापक संख्यामा सुरक्षाकर्मी खटाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।