वीरगन्ज । सर्वोच्च अदालतले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय बदर गरेपछि त्यसको चौतर्फी विरोध शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७९ साल माघ २९ गते फागुन १ गते ‘जनयुद्ध दिवस’ को दिन सार्वजनिक विदा दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा पुष १३ गते बसेको अदालतको संयुक्त इजलासले जनयुद्ध दिवस मनाउने निर्णय बदर भएको फैसला गरेको थियो ।
उक्त फैसलाको ब्यापक विरोध शुरु भएको हो । फागुन १ गते सार्वजनिक विदा दिने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मा मिति २०७९ चैत २ गते प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरु समेत उत्प्रेषणको आदेशद्वारा फागुन १ गतेको सार्वजनिक विदा बदर भएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले गरेको निर्णय परिवर्तन विरोधी र ऐतिहासिक जनयुद्धको अपमान भएको भन्दै नेकपा माओवादीका नेता कार्यकर्ताहरुले चौतर्फी विरोध जनाएका छन् ।