वीरगन्ज । वीरगञ्जमा बुधबार सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधी साउथजोन माविले उचालेको छ । लिटिल फ्लावर मावि लाई २–१ को अन्तरले पछि पार्दै साउथजोन माविले उपाधी उचालेको हो ।
मधेस प्रदेश विपत् व्यवस्थापन कार्यलय नजिक रहेको खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको फाईनल खेलमा गतबर्षको डिफेन्डिङ च्याम्पियन लिटल फ्लावर माविलाई साउथजोनले स्तब्ध बनाएको हो । बुधबार सम्पन्न समापन समारोहमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
प्याब्सन पर्सा र महानगरका अध्यक्षद्वय पुरन प्रधान र आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, प्याब्सन पर्साका केन्द्रीय सदस्य छेडुप लामा, विशिष्ट अतिथि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, कृष्ण उदास खनाल, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता समापनपछि विद्यागत उत्कृष्ट पुरस्कार समेत वितरण गरिएको छ । प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी साउथजोन माविका जर्सी नम्बर ११ का राहुल पन्जियार घोषित भएका छन् । यस्तै उत्कृष्ट गोलकिपरको रुपमा सफल एकेडमीका बिकेन्द्र चौधरी पुरस्कृत भएका छन् । उत्कृष्ट डिफेन्डर साउथजोन माविका जर्सी नम्बर ४ का अन्कित महतो घोषित भए ।
यसैगरि उत्कृष्ट मिडफिल्डरबाट लिटिल फ्लावर माविका जर्सी नम्बर १० का साभीओ घले घोषित भए । यस्तै प्रतियोगिता अवधिभरको खेलमा १५ गोल गर्दै साउथजोन माविका जर्सी नम्बर ७ का रितिक चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए | प्रतियोगितामा मनकामना मावि तेश्रो भएको खेल संयोजक शिव गुप्ताले जनाए ।