वीरगन्ज । नेकपा माओवादी निकटको पत्रकार संगठन प्रेस सेण्टर नेपालको राष्ट्रिय परिषद बैठक र २० औं स्थापना दिवस मनाउनका लागि प्रतिनिधिहरु वीरगन्ज आउने क्रम शुरु भएको छ ।
भोली र पर्सि दुई दिन हुने सेण्टरको राष्ट्रिय परिषद बैठक र स्थापना दिवसका लागि ७७ वटै जिल्लाबाट संगठनका सदस्य प्रतिनिधिहरु आउन थालेका हुन् । पत्रकार संगठनहरुको नै पहिलो र ऐतिहासिक केन्द्रीयस्तरको कार्यक्रम वीरगन्जमा आयोजना हुने भएपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जको चहलपहल पनि बढ्ने भएको छ ।
देशभरबाट आएका प्रतिनिधिहरु दुईदिनसम्म वीरगन्जमा बस्ने भएपछि यहाँको होटलहरु पनि चल्ने र पर्यटन व्यावसायमा पनि राहत हुने व्यावसायीहरुको बुझाई छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि प्रेस सेण्टर नेपाल केन्द्रीय समिति र पर्सा शाखाका सदस्यहरु जोडतोडले लागेका छन् ।
केन्द्रीय स्तरको यति ठूलो कार्यक्रम वीरगन्जमा आयोजना हुने कार्यक्रमले यहाँका नागरिक समाज, उद्योगी, व्यावसायी, राजनीतिक दल, विभिन्न पेशा व्यावसायीहरु पनि उत्साहित देखिएका छन् । देशको कार्यकारी प्रधानमन्त्रीको उपस्थितिमा केन्द्रीयस्तरको कार्यक्रम वीरगन्जमा हुने र बारा पर्साका पालिका प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल समेत हुने भएको छ ।