हेटौँडा । हेटौँडा स्थित चुरेहिल हस्पिटलले चितवन मेडिकल कलेजसँग मर्ज गरेर सेवा शुरु गरेको छ । वागमती प्रदेशको राजधानी मकवानपुर हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ ।
गुणस्तरीय अब्बल स्वास्थ्य सेवा दिंदै आएको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत चुरे हिल अस्पतालसँग गाभेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।
दुईवटा हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरी ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियान चलाईएको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललले जानकारी दिए । ६० प्रतिशत शेयर चितवन मेडिकल कलेजले लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको छ ।
१५ बेडको आकस्मिक सेवासहितको २५ बेडको चुरेहिल हस्पिटललाई मर्जपछि एक सय बेडमा विस्तार गरिने निर्देशक लम्सालले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरिएको हस्पिटलको सेवा शुरु भएको छ । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ ।
हस्पिटलमा छिटै नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।
चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्ज नै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेले विश्वास व्यक्त गरे ।
चौबिसैघण्टा विशेषज्ञसहित यहाँ जुनसुकै जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयले पनि खुशी व्यक्त गरेका छन् ।