युवा देशको मेरुदण्ड हो । युवाको क्षमता, महत्व र आवश्यकताको जानकार हुँदाहुँदै पनि स्थानीयदेखि राष्ट्रिय तहसम्मै त्यसको सदुपयोग हुन नसक्नु हामी सबैका लागि दुर्भाग्य हो । नेपालमा बसेर के हुन्छ ? अहिले हरेक युवाको मनमा छिनछिनमा उठिरहने प्रश्न यही हो । अधिकांश युवा बिदेशिने मनस्थितिमै छन् । कलेज र विश्वविद्यालयमा भन्दा कन्सल्टेन्सी र म्यानपावर कम्पनीमा धाउने युवाको भीडले देशको अवस्थालाई झल्काइ रहेको देखिन्छ ।
केही साताअघि बाराको बारागढी गाउपालिका सुखी पथराबाट, बिरगंज फर्कने क्रममा म चढेको बसका यात्रुमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि काठमाडौं जाँदै गरेका थिए । उनीहरू वैदेशिक रोजगारीका लागि काठमाडौं जाँदै छन् भन्ने उनीहरूको कुराकानी, हाउभाउ तथा व्यवहारले नैै प्रष्ट देखाइरहेको थियो । उनीहरु आपसमा कुराकानी गर्दै भनिरहेका थिए, “हाम्रो देशमा अब रोजगारीको कुनै सम्भावना छैन, व्यपार–व्यवसाय गर्न लगानी हुँदैन, वैदेशिक रोजगारीमा नगए भोकै मरिन्छ ।”
उनीहरूको गफ सुन्ने क्रममा मेरो मनमा एउटा जिज्ञासा उठ्यो, के हाम्रो देशमा साँच्चिकै रोजगारीको अवसर नभएकै हो त ? केही पुस्तक अध्यन गर्दा मलाई थाहा भयो मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी हो । सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कुल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहमा र जहिले पनि मानिसले कोही न कोही अरूको सहयोग खोजि नै रहेको हुन्छ । धेरै कुरामा अरूमा भर पर्दा मानिसले आफ्नो नेतृत्व गर्ने क्षमता पनि बिस्तारै गुमाउँदै गइरहेको हुन्छ ।
यस्ता मानिसहरूले आफ्नो असफलताका लागि प्रायः अरूलाई दोषी देखिरहेको हुन्छ । यी तिनै मानिस हुन् जो आफ्नो जीवनको जिम्मेवारी आफैंले लिन चाहँदैनन् । सरकारले रोजगारी दिएन, पढाइअनुसारको जागिर पाइएन, व्यवसाय गर्ने वातावरण भएन । अधिकांश युवाको गुनासो छ । स्थानीय स्तरमा आफूले गर्दै आएको सा–सानो काम पनि छोडेर छोटो अवधिमा बढी पैसा कमाउने चाहनाले बीचैमा पढाई छाडेर युवाहरू जोखिमयुक्त कामका लागि वैदशिक रोजगारीमा जान बाध्य भएका छन् ।
हुनत वैदेशिक रोजगारीले युवामा आफ्नै काम गर्ने अवसर पनि दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै व्यवसाय गरेका सयौं उदारण छन् । उनीहरू आफ्नै क्षेत्रमा काम गरी आफू र आफ्नो परिवारको भविस्य सुरक्षित हुनेमा ढुक्क भएर स्वदेशमै मेहनत गरी आफ्नो काममा रमाइरहेका छन्, तर अधिकांश युवाले विदेशमा मात्र रोजगारीको अवसर देखे ।
वैदेशिक रोजगारीमा गए मात्र आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित हुने देखे । कारण जे–जस्तो भए पनि स्वदेशमा आयआर्जन गर्ने युवाभन्दा वैदेशिक रोजगारीबाट आय आर्जन गर्ने युवाको संख्या बढी भएको पाइन्छ । अनुमानित ८० लाख नेपाली युवा वैदेशिक रोजगारीमा देश छोडेर गएको तथ्यांक छ । वि.सं. २०७९ मा मात्र वैदेशिक अध्ययनका लागि ५६ अर्ब ५ करोड ३४ लाख बाहिरिएको छ ।
केही पत्रपत्रिकामा हेरेको थिए । नेपालभित्रै रहेर सीपमूलक शिक्षा डाक्टर, इन्जिनियरिङ, सूचना प्रविधि, चार्टर्ड एकाउन्टेन्ट वा व्यवस्थापन क्षेत्रमा डिग्री हासिल गरेकाहरू सायदै कतै बेरोजगार होलान् । चतुर, धूर्त र चाप्लुसीमा पोख्त र अशिक्षित नै समाजसेवाका नाममा राजनीति गरेर स्थानीय, प्रदेश वा संघीय तहको सरकारमा पुग्ने असंख्य अवसरहरू रहेको देखिन्छ ।
उनिहरु नै हाम्रा नेता र मन्त्री बन्छन् । तिनको छुट्टै वर्ग निर्माण हुन्छ । रहनसहन, आचरणदेखि लिएर विचरणसम्म तिनको शैली रातारात बदलिन्छ । हुनत मानिस त्यहीं पुग्छ जति उसले सोचेको हुन्छ । एउटा सफल नेतृत्वको सोच जहिले पनि ठूलो हुन्छ । ठूलो सोचले मानिसलाई ठूलो काम गर्न उत्प्रेरित गर्छ । नेताले सानोतिनो नकारात्मकतामा अल्झिएर आफ्नो समय खेर फाल्दैन ।
बरु ठूलो लक्ष्य राखी त्यसलाई प्राप्त गर्न मेहनत गरिरहन्छ । धेरै मानिसले उसको ठूलो लक्ष्यमा आफ्नो अविश्वास देखाइरहन्छन् तर सफल नेताले जहिले पनि चरम नकारात्मकता हुँदाहुँदै आफ्नो लक्ष्यमा विश्वास राख्छ र संघर्ष गरिरहन्छ । यो नै त्यो गुण हो जसले एउटा साधारण मानिसलाई असाधारण नेता बनाउँछ । सानो सोचले जीवनमा ठूलो सफलता प्राप्त गर्न प्रायः असम्भव हुन्छ ।
सफल नेता पथप्रदर्शक मात्रै नभएर, त्यो बाटोमा आफू पनि हिँडेको हुन्छ । नेताले खालि अरूलाई यो गर्नुपर्छ, त्यो गर्नैपर्छ मात्र भन्दैन, बरु आफैं ले कतिपय कुरा गरेर उदाहरण बन्छ ।
एउटा प्रसँग जोड्न मन लाग्यो, एउटी आमाले आफ्नो बच्चालाई धेरै गुलियो नखाऊ भनिदिनुस् भनेर महात्मा गान्धीलाई भन्दा तपाई १५ दिनपछि फेरि आउनुस् भनेर पठाउँछन् । अनि १५ दिनपछि तिनै महिला फेरि आफ्नो बच्चा लिएर गान्धीकोमा पुग्दा गान्धीले भन्छन्, “बाबु धैरे मिठाई नखानु, यसले तिम्रो शरीरलाई राम्रो गर्दैन ।” तर यही कुरा भन्न किन १५ दिनपछि बोलाउनुभयो ? भनेर महिलाले गान्धीलाई प्रश्न गर्दा गान्धी भन्छन्, “पहिला मैले पनि त गुलियो खान छोड्नुप-यो नि !”
त्यसैले नेतृत्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेको आफैं ले गरेर उदाहरण बन्नु पनि हो । सफल नेता जहिले पनि दिन मै विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुसी हुन्छ र सहयोग गर्छ ।
हामीले ख्याल राख्न जरुरी छ– युवा अवस्था आउँछ तर जीवनमा एक पटक मात्रै, एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ । सबैले सोच्नै पर्ने बेला आएको छ ।
दुखद् कुरा समय उड्छ । अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाई हामी नै हो । अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पु¥याउने हाम्रोे हातमा छ । आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ ।