वीरगन्ज । आदिवासी थारु समुदायको नयाँ बर्ष खिँचडी (माघी) यसपटक पनि भव्य रुपमा मनाउने भएको छ । भोली माघ १ गते वीरगन्जको पूरानो बसपार्कमा कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । माघी मूल समारोह समिति पर्साले थारु माघी समारोह २०८० कार्यक्रम आयोजना गर्ने भएको हो ।
आदिवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमका साथै माघी समारोह मनाउन तथा राज्यका आदीवासी थारु समुदायको राजनैतिक, सास्ंकृितक, सामाजिक पहिचान, राज्यका हरेक निकायमा जनसङख्याको आधारमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व सहित हक अधिकार सुनिश्चित गर्ने उद्देश्यले कार्याक्रमको आयोजना गरिएको समितिका संयोजक शेखर चौधरीले बताए ।
माघीको अवसरमा आम समुदायका जीवन रक्षा गर्ने हेतुले सोही दिन रक्तदान कार्याक्रम समेत आयोजना गरिएको छ संयोजक चौधरीले बताए। माघ १ गते बिहान घण्टाघरदेखि पुरानो बसपार्क थारु सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा आयोजना गरिने औपचारिक कार्यक्रममा थारु सस्ंकृति झल्कने घाँटो, सामाचकेवा, झम्टा,थारु पूर्वि नाच, थारु समुदायका बालबालिकाको थारु नाच, कला प्रदर्शनी, थारु खानाका परिकारहरु घोंङ्गी, केकडा, माछा, परेवा,हाँस, कुखुरा, चिचर, भुजा र तिलको लड्डुका स्टलहरु राखिने संयोजक थारुको भनाइ छ ।
समितिका संयोजक शेखर चौधरीको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य नन्दकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारु, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागिता थियो ।
कार्याक्रमको सञ्चालन पुनम चौधरीले गर्नुभएको थियो । यसैबीच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँपालिका, जीराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।