काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ’ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ। प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो ।
कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउनु हुने छ । आज दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो ।
त्यसक्रममा उहाँले ध्यानलाई धर्मसँग होइन बिज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रुपमा हेर्नुपर्ने र आफुलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताउनुभयो । पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका प्रमुख एवम एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर सहितका प्रहरी अधिकारीहरूको सहभागिता रहेको छ ।