वीरगन्ज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा कर्फ्यु आदेश जारी गरेको छ । बरहथवामा नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा एकजनाको मृत्यु र ६ प्रहरीसहित ८ जना घाइते भएपछि स्थिति तनावपूर्ण बनेको छ ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गर्दा एकजना प्रदर्शनकारीको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु आदेश जारी गरेको हो ।
बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले
बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल
गतिविधि गर्न नपाउने गरी शुक्रबार बेलुका ५ः३० बजे देखी शनिबार २१ गते बिहान ८ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ ।