वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ ओमआश्रममा रहेको माउण्ट एडमण्ड माविको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आयोजित बार्षिकोत्सवको नेपाली कांग्रेसका मधेस प्रदेशसभा सदस्य शंकर चौधरीले दीप प्रज्जवलन र केक काटेर उद्घाटन गरेका थिए ।
विद्यालयका प्रबन्ध निर्देशक फजिल मियाँको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशभा सदस्य चौधरीले अहिलेको समयमा शिक्षा महत्वपूर्ण भएको बताए । उनले शिक्षाको विकासले मात्रै समाजको पनि विकास हुने भन्दै शिक्षामा माउण्ड एडमण्ड माविले पुर्याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयले कस्तो विद्यार्थी पढ्न आउने भन्दापनि विद्यालयबाट विद्यार्थी कस्तो बनेर जाने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
उनले शिक्षामा डिग्रीको प्रमाणपत्र लिएर मात्रै नहुने भन्दै बजारमा दक्ष जनशक्तिको रुपमा काम गर्नसक्ने शिक्षा अहिले आवश्यकता रहेको बताए । ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईरालाले विद्यालयहरुले पाठ्याक्रममा आधारित विषयवस्तु मात्रै नभई बाहिरी व्यावहारिक सीप र ज्ञानका कुराहरु पनि सिकाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाह, पूर्व प्राध्यापक जगदीश महतो, पूर्व शिक्षक राजेश पाण्डे, नारायणी एफ.एमका सम्पादक नीरज पिठाकोटे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गीत संगीतको प्रस्तुतीले मनोरञ्जन दिलाएका थिए ।