वीरगन्ज । वीरगन्जको गहवामा रहेको माईस्थान विद्यापीठ माविको कक्षा ९ र १० को पढाई शिक्षक अभावले प्रभावित भएको छ । कक्ष ९ र १० को पढाई विद्यार्थीहरुले एक दिन बिराएर हुने गरेको बताएका छन् । विद्यालयमा शिक्षक अभाव भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० को पठन पाठन हुने गरेको विद्यार्थीहरुले बताएका हुन् ।
महानगरपालिकामा शिक्षक अभावका कारण एक दिन बिराएर कक्षा सञ्चालन भईरहेको हो । वीरगन्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकलाई हटाएपछि सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएको छ । पूर्ण अंग्रेजी माध्यममा अध्यापन गराईने माईस्थान विद्यापीठमा कक्षा ९ र १० मा विद्यार्थीहरुको संख्या बढी भएको र शिक्षक अभावका कारणले दिन बिराएर कक्षा ९ र १० का विद्यार्थीहरुलाई पढाउनु परेको विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्णले बताए ।
विद्यार्थीहरुको परीक्षा नजिक आएको र पाठ्यक्रम पूरा गर्न सम्भव नहुने भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० का विद्यार्थीलाई पढाएर भएपनि कोर्स पूरा गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कर्णले बताए । उनका अनुसार अहिले विकल्पको रुपमा एक दिन ९ कक्षा र अर्को दिन १० कक्षाका विद्यार्थीहरुलाई पढाईरहेको र यसरी सम्भव नहुने भएपछि शिक्षकको व्यावस्था गर्न महानगरपालिकालाई अनुरोध गरिएको प्रधानाध्यापक कर्णले बताए ।
आईतबारदेखि विद्यालयमा शिक्षकको व्यावस्था गर्ने आश्वासन पाएको र फेरी नियमित कक्षा सञ्चालन गरिने उनले बताए । सामुदायिक विद्यालयहरुका शैक्षिक गुणस्तर खस्किदै गएको अवस्थामा स्थानीय तहको क्षेत्राधिकारभित्र सामुदायिक विद्यालयहरु गएपछि झन बढी वेथिति बढेको छ ।