वीरगन्ज । राष्ट्रिय सूचना आयोगले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बिरगज–१५ पर्सा प्रादेशिक आयुर्वेद अस्पताल पर्सालाई सूचना उपलब्ध गराउन आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले काठमाडौं बाट कार्यवाही गरेको छ ।
सूचनाको हकका अभियन्ता मनोज कुमार रौनियारले सूचना माग गर्दै राष्ट्रिय सूचना आयोगमा दिएको निवेदनको आधारमा सुनुवाई गर्दै आयोगले आयुर्वेद उपचार केन्द्र र प्रादेशिक आयुर्वेद अस्पताललाई आदेश गरेको हो ।
गएको साउन ३० गते दर्ता नम्बर ३९१ मा निवेदकले दिएको निवेदन अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १० उपदफा (३) खण्ड (क) बमोजिम म्याद तोकेर सूचना उपलब्ध गराउन आयोगले आदेश गरेको आयोगका सूचना अधिकारी सुदर्शन ढकालले जानकारी दिए ।
नागरिकले सहज रुपमा सूचना पाउने पर्ने व्यावस्था भएपनि सरकारी निकायहरुले सहज रुपमा सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगको गठन गरी सूचनाको हक प्रयोग गरेर सूचना पाउने व्यावस्था गरेको छ ।
नागरिकलाई राज्यका जुनसुकै सूचना पनि आवश्यक परेमा सूचनाको हक प्रयोग गरेर सूचना माग गर्न सकिने व्यावस्था रहेको छ । नागरिकलाई सूचना दिन नमान्ने वा दिनलाई आनाकानी गर्ने निकायलाई राष्ट्रिय सूचना आयोगले कारवाही गर्ने गरेको छ ।