वीरगन्ज । पर्साको पर्सागढी मन्दिर व्यवस्थापन समितिले यसपालि पनि दुईसय १० औं विजय उत्सव मनाउने भएको छ । पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २१० औँ विजय महोत्सव आयोजना गर्न लागेको हो ।
विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीहरुको सहयोगमा आधुनिक हतियार बोकेका ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा विजय उत्सवको आयोजना गरीने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुरुष १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताउनुभयो ।
पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उधोगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताउनुभयो ।
पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले पर्सागढी क्षेत्रको जमिन व्यक्तिको नाममा रहेको अवस्थाले नै काम गर्न समस्या हुने बताउनुभयो ।
पर्सागढीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरीदिन हिजो पत्रकार सम्मेलन मार्फत आग्रह गरिएको हो । मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासी तथा विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।