वीरगन्ज । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी रिट निवेदन खारेज भएपछि वीरगन्जमा तरंग फैलिएको छ । हेटौंडा बजारको मुख्य सडक विस्तार सम्बन्धी परेको रिट निवेदन खारेज भएपछि वीरगन्जको पनि खारेज हुनसक्ने भएकोले वीरगन्जको मुख्य सडकमा घर पर्नेहरुमा तरंग फैलिन थालेको हो ।
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट हिजो बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो ।
न्ययाधीशद्वय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौँडा बजार क्षेत्र अन्तर्गत गर्ने राजमार्गको सडक विस्तार विरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
सर्वोच्चको निर्णयसँगै वीरगन्जको सडक विस्तारसम्बन्धी मुद्दा अब के हुने होला भन्ने चासो बढेको छ । वीरगन्जको मितेरी पुलदेखि मकवानपुरको दामेचौरसम्मको त्रिभुवन राजपथमा पर्ने सडक विस्तारका लागि सडक विभागले यसअघि कयौं पटक सूचना जारी गरेको छ ।
अहिले वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतमा नै विचाराधिन रहेको छ । उक्त मुद्दाको २२ पटकसम्म पेशी सरिसकेको छ । हेटौडा बजारको सडक विस्तारसम्बन्धी परेको रिट खारेज भएपछि अब वीरगन्जको पनि रिट खारेज हुनसक्ने अपेक्षा गरिएको छ ।