वीरगन्ज । राजस्व अनुसन्धान पथलैयाले वीरगन्जको सुनचाँदी पसलमा छापा मारेको छ । वीरगन्जको माईस्थानमा रहेको आर.के एण्ड सन्स सुनचाँदी पसलमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको टोलीले मंगलबार दिउँसो छापा मारेको हो ।
सुनचाँदी पसलमा छापा मारेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम प्रसाद देवकोटाले पुष्टि गरे । आर.के एण्ड सन्स सुनचाँदी पसलको बारेमा धेरै सूचनाहरु आएपछि अनुसन्धानका लागि आएको टोलीले कागजपत्र लिएर फर्किएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख देवकोटाले बताए ।
थप जानकारी भने अनुसन्धानपछि मात्रै आउने उनले बताए । बा २ झ १४३५ नम्बरको स्कारपियोमा आएको राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले एकबोरा कागजपत्र लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुन तस्करीका घटनामा बारा, पर्साका सुनचाँदी व्यावसायीहरुको पनि संलग्नता रहेको सञ्चार माध्यमहरुमा आउने गरेकोले केही सूचना पाएर नै राजस्व अनुसन्धानको टोलीले छापामारेको हुनसक्ने अनुमान गरिएको छ ।