वीरगन्ज । वीरगन्ज । मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले देशमो उद्यमशीलता विकासका लागि उपभोक्ता सचेतना आवश्यक रहेको बताउनु भएको छ ।
उद्यम विकास तथा आर्थिक विकासका लागि भएका प्रयासहरु बारेमा हेल्भीटासले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सहयोगमा महोत्तरीको बर्दिवास स्थित गौतम होटलमा आयोजना गरेको अनुभव आदानप्रदान तथा अन्तरकृया कार्यक्रममा राज्यमन्त्री अन्सारीले यस्तो बताउनु भएको हो ।
उहाँले देशको चारवटा ‘ज’ (जल, जंगल, जमिन र जवानी) लाई खेर जान दिन नहुने बताउदै त्यसको लागि देशमा खेर गईरहेको यी स्रोतको परिचालनका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । अहिले उद्योग व्यापार र कृषि उद्यमीहरुको मनोबल गिरेको अवस्थामा हेल्भीटासले आमाले खेल्ने भूमिका खेलेको भन्दै हेल्भीटासको गविधिको प्रशंसा गर्नुभयो ।
उहाँले परम्परागत कृषि खेतीले आर्थिक विकास सम्भव नरहेकाले लक्षित कृषि खेती गरेर उपभोत्ता सचेतना बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
हेल्भीटासका टिम लिडर हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साह, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, मधेस प्रदेशको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत रोशन मेहेता, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतम लगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा टिम लिडर हरि गुरुङले हेल्भीटासले हालसम्म गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । १९५६ सालदेखि नोपालमा काम शुरु गरेको हेल्भीटासले ७ वटा प्रदेशका २९२ पालिकाहरुमा स्थानीय स्रोतमा आधारित उद्यम व्यावसाय प्रर्वद्धन गरी रोजगारी सृजना गर्नका लागि अध्ययन, अनुसन्धान, नमूना अभ्यास गरी उपयुक्त ठहरिएका व्यावसायमा निजीक्षेत्रको लगानी र व्यापार अनुकुलन व्यावस्था निर्माण गरी निजीक्षेत्रसँग वकालत गर्ने काम गरेको जानकारी गराए ।
कार्यक्रममा सहभागी विभिन्न स्थानीय तहका प्रमुख, प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरु र कृषि उद्यामीहरुले आ–आफ्ना अनुभव सुनाएका हेल्भिटास नेपाल मधेस प्रदेशका संयोजक कृष्णलाल कर्ण जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गर्नुभएको थियो ।