वीरगन्ज । वीरगंजमा भोजपुरी सिने अवार्ड सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंजको स्वर्ण जयन्तीको अवसरमा भोजपुरी चलचित्रमा काम गर्ने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको सिने अवार्ड समारोह वीरगंजको नगरसभा गृहमा हिजो सम्पन्न भएको हो ।
नेपाल चलचित्र विकास बोर्डमा दर्ता भएको ‘कब होइ मिलनवा हमार’, ‘एसपी खरेलः द रियल हिरो’, ‘मधेसीबाबू’ र ‘मधेसीपुत्र’ गरी चारवटा भोजपुरी चलचित्रमा अभिनय गरेका तीसजना कलाकारलाई सम्मानित गरिएको थियो । लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक बैदको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले भोजपुरी भाषा, संकृति र कलाको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकारको हैसियतले वीरगन्ज महानगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले कला संस्कृतिले नै वीरगन्जलाई वैभव वीरगन्ज बनाउन लागि परेको बताउदै यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तव, बेतिया लोकसभाका सांसद सञ्जय जयसवाल, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ चलचित्रकर्मी एवं निर्देशक नीर शाह, निर्देशक उज्ज्वल घिमिरे, निर्माता छविराज ओझा, नायिका सुषमा अधिकारी, कलाकार एलिना बास्कोटा, गायिका प्रश्ना पाण्डे, भोजपुरी नायक परदेशी साहलगायतको सहभागिता थियो ।