वीरगन्ज । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको तस्करीले निरन्तरता पाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि भारतीय कस्टमबाट प्याज नआउने भएकाले नेपाली भन्सार कार्यालयहरुले पनि प्याजको भन्सार जाँचपास नगर्ने भएपछि अहिले अवैध रुपमा प्याजको ओसार पसार भईरहेको छ ।
सोही क्रममा जिल्ला प्रहरी बाराले भन्सार छलीको प्याज सहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट काठमाडौं तर्फ गईरहेको मालवाहक ट्रकमा भन्सार छलीको प्याज रहेको सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ना ६ ख २६२५ नम्बरको ट्रकमा रहेको १७ टन सातसय तीस केजी प्याज बरामद गरेको हो ।
ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा भीसीटीएस अनलाईन बिलमा गिट्टी देखाएर प्याज लोड गरेर लादै गरेको अवस्थामा प्याज सहितको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका निमिक्त प्रवत्ता रबिन्द्रराज गुरुङले जानकारी दिए ।
बरामद गरिएको प्याजको मूल्य अन्दाजी नौ लाख ३० हजानर ८२५ र ट्रकको मूल्य १८ लाख गरी २७ लाख ३० हजार ८२५ मूल्य कायम गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक गुरुङले बताए ।