वीरगन्ज । चर्चामा आईरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राख्ने जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साम्पाङले धरानलाई महत्व नदिएमा आक्रोशित हुदै नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्ने भनेका हुन् ।
उनले लेखेका छन्, ‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !”
निर्वाचन अघि पनि अनौठो तरिकाले प्रचार गरेर चुनाव जितेका साम्पाङ धराने जनतालाई पानी खुवाउनका लागि भनेर लगातार लागि परेर धरानमा पानी पु–याएर छोडेका थिए । अहिले धरानमा विमानस्थल बनाउनुपर्छ भनेर लागि रहेका छन् । तर, धरानमा विमानस्थल बनाउने विषय रोकिने भएको छ ।
पछिल्लो समय धरानमा विमानस्थल निर्माण र सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले खटाएको अध्ययन टोलीले पुरानै प्रतिवेदनलाई टेकेर प्रतिवेदन तयार गरी प्राधिकरणलाई बुझाउने भएपछि अब धरानबासीको ‘एयरपोर्ट सपना’ बन्द भएको छ । यहि कारणले पनि मेयर साम्पाङ आक्रोशित भएर स्ट्याटस लेखेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने भनेका हुन् ।
गत कात्तिक २१ मा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरान–१७ स्थित डाँडाघोपामा विमानस्थल निर्माण गर्न प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै पर्यटन मन्त्री किरातीलाई पत्र लेखेका थिए । सोही पत्रका आधारमा मन्त्री किरातीले सम्भाव्यता अध्ययन गर्न मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
प्राधिकरणले प्रबन्धक इन्जिनियर नलविक्रम थापा, वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेतको टोली खटाएको थियो । अध्ययन टोलीले विमानस्थलका लागि निःशुल्क जग्गा उपलब्ध हुनुपर्ने निष्कर्ष निकालेको छ ।
अहिले ७ बिघा जग्गा मात्र रहेको ठाउँमा एयरपोर्ट बनाउन त्यस भन्दा १३ गुणा बढी, अर्थात् करिब ९३ विघा क्षेत्रफल चाहिने ०७४ सालको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख थियो । अहिले त्यसैलाई दोहोर्याउँदै मन्त्री र मेयरको बचन काट्न नसकेर सम्भाव्यता अध्ययन गरेर टोली काठमाडौं फर्किएको हो ।