वीरगज । बाराको कलैयामा रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्ने ‘सार्प सुटर’ सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा समेत सम्लग्नता रहेका सिंहलाई बारा प्रहरीले दुई महिनापछि पक्राउ गरेको हो ।
भारतको मोतिहारी जिल्ला छौडादानो तिनकुनी बस्ने ३२ बर्षीय सुजित कुमार सिंह सहितको आपराधिक प्रवृत्तिका व्यक्तिहरु नेपाल प्रवेश गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सिंहलाई बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिङ साईट नजिकैबाट पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।
प्रहरीले चेकजाँचका लागि रोक्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार गरी आक्रमण गर्न खोजेपछि जवाफी फायरिङका क्रममा सिंहलाई घुँडामुनी गोली प्रहार गरि पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । उनको साथबाट एक थान घरेलु हतियार, गोली प्रहार भएको खोका र गोली समेत बरामद भएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।
घाईते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनी नेपालका विभिन्न हत्या र अपराधिक कृयाकलापमा संलग्न रहेको प्रहरीको भनाई छ । कात्र्तिक १३ गते कलैयाको मदर्शा टोलमा गोली हानी रुपेश स्वर्णकारको हत्या घटनामा पनि संलग्न रहेको प्रहरीले दावी गरेको थियो ।
रुपेशको हत्या घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरेर घटनामा सिंहको संलग्नता देखिएको दावी सहित नाम सार्वजनिक गरेको थियो । सिंह बाराको पचरौता नगरपालिकाको वडा नम्बर ७ पोखरीको छेउमा भारतीय युवाको गोली हानी हत्या गरेको घटनामा पनि संलग्न रहेको दावी प्रहरीको छ ।