वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका बाबुलाल उरावँ धाँगडका ३२ बर्षीय छोरा मनोज उरावँ धाँगडको बाघको आक्रमणबाट ज्यान गएको हो । हिजो साँझपख जंगल छेऊमा शौच गर्नका मनोजलाई बाघले घिसारेर लगेको थियो ।
मनोज बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनले लगाएको चप्पल भेटिएको स्थानमा बाघको पञ्जाको डोव पनि भेटिएकोले बाघले नै मनोजलाई लगेको यकिन भएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बताउनुभयो ।
हिजो साँझ बेपत्ता भएका मनोजलाई खोजी गर्दै जाँदा आज बिहान लगि मारेको र मारेको ठाउमा मृतकको मोबाईल भेटिएको छ । साथै दाहिने घुडा देखि तलको एउटा खुट्टा बाकी रहेको, गर्धनको छाला नभएको मासु र हड्डी, सोही छेउमा छाला नभएको खप्पर भेटिएको छ ।
बाटो भरी रगत लतपतिएको र टाउको र खुट्टा भएको घट्ना स्थलदेखी अन्दाजी १० मिटर उतर पूर्वमा मृतकको ज्यकेट पनि फला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । घटनाको आवश्यक मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक केशरीले बताउनुभयो ।
पर्साको जंगल छेऊको वस्तीमा वन्यजन्तुले बालीनाली खाएर नष्ट गर्नुका साथै मान्छेको ज्यान समेत लिने गरेको छ । मनोजका बाबु बाबुलाल महतो उरावँले दुई विगाह क्षेत्रफलमा लगाएको धानबाली पनि यसपटक जंगली जनावरले खाईदिएपछि भित्र्याउन पाएनन् ।
बाली भित्र्याउन नपाएको पीडामा रहनुभएका बाबुलाललाई बाघले छोरा पनि खाईदिएपछि झन पीडा थपिएको छ ।