वीरगन्ज । वीरगन्जका व्यापारीहरुले सीमाक्षेत्रमा हुने अवैध व्यापार रोक्न माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले आपूर्ति व्यावस्थापनको लागि पर्साका विभिन्न सरकारी तथा निजीक्षेत्रसँग बजारको अवस्था, उपभोग्य वस्तुको गुणस्तर, मूल्य तथा भण्डारण क्षमताको विषयमा गरेको छलफलमा व्यावसायीहरुले अवैध व्यापार रोक्न माग गरेका हुन् ।
आपूर्ति व्यावस्थापनको लागि अहिलेको अवस्था, वस्तुको गुणस्तर र भण्डारण क्षमताहरुको बारेमा जानकारी लिन मधेस प्रदेशका जिल्लाहरुमा आएको मन्त्रालयका उपसचिव होमनाथ भट्टराई र यमेन्द्र उपाध्यायको टोलीलाई वीरगन्जका व्यावसायीहरुले भारतबाट सीमाक्षेत्रमा हुने अवैध व्यापारले नेपालको व्यापार व्यावसाय धरासायी भएको भन्दै यसलाई रोक्न माग गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघसँग गरेको छलफलमा निजीक्षेत्रको तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले अहिले सरकारको नीति कै कारणले भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका वस्तुहरुको अवैध व्यापार फस्टाएकोले यसको रोकथाम पहिलो प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।
भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटाउन पहल गर्नुपर्ने, खाद्यान्न आयातमा लगाउने गरिएको कोटा सिस्टम हटाउनुपर्ने र अवैध व्यापारलाई निर्मूल पार्नुपर्ने बताउनुभयो । सीमाक्षेत्रमा खुलेयाम अवैध व्यापार हुँदा पनि राज्यले नियन्त्रण गर्न नसकेको भन्दै सुरक्षा निकायको आलोचना गरेका छन् ।
सरकारले प्रतिबन्ध लगाएका सामानहरु काठमाडौंमै छ्यापछ्याप्ती पाउने गरेको भन्दै नेपालका व्यापारीलाई ल्याउन दिईएको छैन कहाँ बाट आयो भनेर प्रश्न गर्नुभयो । राज्यको अन्तर सरकारी निकायको समन्वयको अभावमा व्यावसायीहरुले दुःख पाउने गरेको साथै उपभोत्ताले पनि गुणस्तरहिन वस्तुहरु महंगोमा किन्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
नेपालका व्यापारीहरुले आयात गरेर ल्याएको सामान भन्सार तिरेर ल्याउँदा महंगो पर्ने तर त्यहि सामान बजारमा सस्तोमा पाउने अवस्था रहेको भन्दै अवैध व्यापारले नेपालको बजार अस्तव्यस्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् । धान आयात सरकारले खुला गर्नुपर्ने नभए अबको छ महिनापछि नेपालमा चामल उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्ने व्यापारीहरुले बताए ।
ओबिसी फुडका संचालक सुरेश रुंगटाले ठूला चामल उद्योगहरुका लागि आवश्यक धान नेपाली किसानले उत्पादन गरेको अपर्याप्त रहेको भन्दै अहिले ८० प्रतिशत धान भारतबाट ल्याउने गरेको बताउनुभयो । नेपालमा उत्पादन हुने धान साना सेलर मिलहरुलाई मात्रै हुने र ठूला चामल उद्योगहरुमा त्यो धान काम नलाग्ने बताए ।
सरकारले तोकेको धानको समर्थन मूल्य भन्दा बजारमा धानको मूल्य बढेकोले अहिले किसान खुशी भएपनि नेपाली किसानले उत्पादन गरेको धानले नेपाली बजारलाई नपुग्ने उनीहरुको भनाई छ ।