वीरगन्ज । वीरगन्जमा बिहीबारदेखि शुरु भएको दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पर्सा –११ र नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा पर्साले भारतको यूपी इलाभेनलाई एक विकेट र नेपाल आर्मीले नेपाल पुलिसलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
यूपी इलाभेनले दिएको ६७ रनको लक्ष्य पर्सा इलाभेनले १६ ओभर ४ बलमा ९ विकेट गुमाएर भेट्टायो । त्यसअघि बीरगन्जको नारायणी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूपीले १६ ओभरमा ६६ रनमै सिमित भएको थियो । त्यस्तै दोश्रो खेलमा नेपाल आर्मी ८ विकेटले विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिसलाई ८ विकेटले पराजित गर्दै आर्मी विजयी भएको हो ।
टस जितेर फिल्डिङ रोजेको आर्मीले नेपाल पुलिसलाई व्याटिङको निम्तो दिएको थियो । नेपाल पुलिस १८.४ ओभरमा ५८ रन बनाउदै अलआउट भयो । जवाफी व्याटिङ गरेको नेपाल आर्मीले ६.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । दोश्रो खेलको म्यान अफ दी म्याच सहाब आलम घोषित भए ।
प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ को सहभागिता रहेको पर्सा क्रिकेट संघ (क्यान) का अध्यक्ष मनिष सिंहले जानकारी दिए ।